भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा

2022-12-27

Demo BITS

दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो । दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो आएपछि घाइतेका लागि प्राथमिकता दिएर सो सेवा थालनी गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार दैनिक भरतपुर अस्पतालमा ३० देखि ४० जना दुर्घटनाका घाइते आउने गर्दछन् । सामान्य घाइते सरकारीमा आए पनि जटिल समस्या भएका निजी मेडिकल कलेजमा जाने गरेका छन् । उहाँले भन्नुभयो, “घाइते मेडिकल कलेज जाने शव भरतपुर अस्पतालको शवगृह आउनेक्रम रोक्नका लागि छुट्टै ट्रमा इमरजेन्सी सञ्चालनमा ल्याएका हौँ ।” उहाँको भनाइमा जिल्लामा निजीमाभन्दा राम्रो सरकारी अस्पतालमा घाइतेको उपचार गर्न सकिन्छ । सिटिस्क्यान मेसिन अस्पतालमा छ भने एमआरआइ माग गरिएको छ । उपचारका लागि विशेषज्ञ चिकित्सक पनि छन् । केही वर्षअघि घाइतेको पहिलो उपचार सरकारीमा गर्नुपर्ने भन्दै लबिङ भए पनि सफल हुन सकेको छैन । सरकारले भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन । वार्षिक रु एक करोड ५० लाख हाराहारी बजेट आउने गरेको छ । सो रकमलाई सर्जिकल सामग्री खरिदमा अस्पतालले खर्च गर्ने गरेको पौडेलले जानकारी दिनुभयो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालले निर्माण थालेको ५० श्ययाको आकास्मिक भवनको माथिल्लो तल्लामा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विस्तृत अध्ययन प्रतिवेदनसमेत तयार भएको छ । स्वास्थ्य मन्त्रालयले आकस्मिक भवनका लागि रु नौ करोड विनियोजन गरेको छ । अपुग रकम अस्पतालले थप गरेर माथिल्लो दुई तलामा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । चितवन र आसपासका जिल्लाका राजमार्ग, सडकखण्ड र भित्री सडकमा धेरै दुर्घटना हुने गर्दछन् । ती दुर्घटनाका घाइतेलाई यहाँको अस्पतालमा उपचार गरिँदै आएको छ । अधिकारीका अनुसार सरोकारवालासँग छलफल गरेर घाइतेलाई पहिलो बिन्दुका रुपमा भरतपुर अस्पतालमा उपचार गर्ने तयारी गरिएको छ । अस्पतालमा सबै सुविधा भएकाले सरकारीमा असम्भव भए मात्र निजीमा पठाउने गरी सरोकारवालासँग छलफल गरिएको हो । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय अस्पतालमा हुनुपर्ने सबै सेवा प्रवाहका लागि अस्पतालमा काम भइरहेको छ । यसअघि पटकपटक प्रमुख फेरिएका कारण समस्या आएको थियो । अस्पतालले आकस्मिक सेवामा भएका १२ श्ययालाई बढाएर २० श्यया पु¥याएको छ ।


Popular News


  • +977-1-4780076, +977-1-4786489
  • news@roshankhabar.com
  • प्रकाशक - धर्मराज भुसाल
  • सम्पादक - अरुण बराल
  • सुचना बिभाग दर्ता नं. २१४ / ०७३–७४

Facebook


Copyright © 2026 All rights reserved by Nepal News

Powered by Bitmap I.T. Solution Pvt. Ltd..